जिल्ला परिचय
भौगोलिक रुपले नेपालको मध्यपश्चिम क्षेत्र अन्तर्गत राप्ती अंचलको सबैभन्दा दुर्गम जिल्ला हो रुकुम । विगतको केन्द्रिकृत र सामन्ती शासन पद्धतिमा विकासको मूल प्रवाहमा यो जिल्ला समाहित हुन सकेन । यातायातको पहुच नभएको तथा केन्द्रीय शासन सत्ताको विकास कार्यक्रम संचालन गर्ने क्रममा उचित र प्रभावकारी दृष्टि पर्न नसक्दा रुकुमका जनताहरुले आफूलाई ठगिएको, हेपिएको तथा देशको मूल प्रवाहबाट पृथक राखिएको अनुभूति गर्न वाध्य भए । जसले गर्दा जनताहरु केन्द्रीय राज्य सत्ता प्रति विरोधी वन्दै गए । फलस्वरुप एक दशक भन्दा लामो अवधिको द्धन्दको उद्गमस्थलको रुपमा पनि यस जिल्ला परिचित हुन पुग्यो । यसको साथै मुलुकमा शान्ति अग्रगमन र गणतन्त्र स्थापना गर्ने क्रममा रुकुमका सयौं नेपाली नागरिकहरुले ज्यान समेत गुमाउनु पर्योत ।
रुकुम जिल्ला २८० २९’ उत्तरी अक्षांस र ८२० ५३’ पूर्वी देशान्तरमा अवस्थित छ । सवैभन्दा होचो भू-भाग समुन्द्री सतहदेखि ७६२ मी. को उचाईमा रहेको चौरजहारी छ भने जिल्लाको सवैभन्दा अग्लो भू-भाग ६०७२ मी. को उचाईमा रहेको सिस्ने हिमाल तथा पूथा हिमाल पर्दछ । विभिन्न खोलाहरु, २ वटा भेरी नदी, स्यार्युताल, सिस्ने हिमाल, वुकिपाटन देखि चौरजहारी जस्ता उपत्यका रहेको सुन्दर जिल्ला हो रुकुम । यसको साथै जडिवुटीकेा धनी, तरकारी विउ उत्पादनमा देशभरीमा नै प्रसिद्ध, ढोरपाटन शिकार आरक्षको शिकार क्षेत्र, जैविक विविधतायुक्त खनीज पदार्थको राम्रो सम्भाव्यता रहेको तथा पूर्व-पश्चिम पुष्पलाल लोकमार्ग जिल्लाको विच भाग हुदै जाने एवं उत्तर-दक्षिण मार्ग खोल्ने संभावना पनि त्यत्तिकै रहेकाले विकासको प्रचुर सम्भावना भएको जिल्लाको रुपमा रुकुमलाई लिन सकिन्छ ।